
बैतडी। सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने यस पर्वलाई विशेषगरी पहाडी समुदायले दसैँभन्दा पनि बढी महत्व दिने गरेका छन् ।
पण्डित जयानन्द भट्टका अनुसार यो वर्ष गौरा भाद्र शुक्ल पक्षमा परेको छ । पौराणिक विश्वासअनुसार देवी गौरीले भगवान् शिवलाई प्राप्त गर्न कठोर व्रत गरेकी थिइन्, सोही सम्झनामा यो पर्व मनाउने परम्परा रहिआएको आचार्य विष्णुदत्त भट्टले बताए ।
गौरामा विवाहित महिलाले निराहार व्रत बसी शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो पर्व नेपालसँगै भारतको उत्तराखण्डको कुमाउँमा पनि धुमधामका साथ मनाइन्छ ।
पर्वको पहिलो दिन महिलाले पाँचथरी गेडागुडी (गहुँ, केराउ, गहत, मास र गुरुस) तामाका भाँडोमा भिजाएर ‘बिरुडा’ राख्छन् । दोस्रो दिन सामूहिक रूपमा पानीका मुहान र पँधेरामा बिरुडा धुन्छन् । सप्तमीका दिन गौरा देवीलाई मठमन्दिरमा स्थापना गरी पूजाअर्चना गर्ने चलन छ । गौराष्टमीको दिन महिलाले दुबधागो चढाई प्रसाद स्वरूप बिरुडा ग्रहण गर्ने र परिवारका सदस्यलाई पुज्ने परम्परा छ ।
यस पर्वमा अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारको सुख–शान्तिका लागि व्रत बस्ने मान्यता छ । गौराको मुख्य दिन अठ्यावालीपछि स्थानीय परम्परा अनुसार ठाडो खेल, ढुस्को, धमारी र देउडा खेल्ने चलन रहिआएको छ । पर्व नजिकिँदै गर्दा गाउँघरमा चहलपहल बढेको छ भने रोजगारीका लागि बाहिर गएकाहरू पनि घर फर्किन थालेका छन् ।




































