जोडिनुहोस
  • होमपेज
  • बंगालको खाडीमा ‘मोन्था’ चक्रवात शक्तिशाली, नेपालमा पनि प्रभाव पर्ने

बंगालको खाडीमा ‘मोन्था’ चक्रवात शक्तिशाली, नेपालमा पनि प्रभाव पर्ने

काठमाडौँ । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय रहेको ‘मोन्था’ चक्रवात आज (मंगलबार) थप शक्तिशाली भई गम्भीर चक्रवाती आँधीमा परिणत हुने जनाएको छ।

विभागका अनुसार, यस चक्रवातका कारण आन्ध्र प्रदेश र तमिलनाडुका केही भागमा भारी वर्षा हुन सक्ने छ। आजै साँझ वा राततिर यो आँधी आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरिएको छ। त्यसअनुसार आन्ध्र प्रदेश र ओडिशाका केही भू–भागका लागि चक्रवातसम्बन्धी चेतावनी जारी गरिएको छ।

भारतीय मौसम विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चक्रवाती आँधी आज बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ।”

विभागका अनुसार, त्यस बेला हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्ने सम्भावना छ। विभागले सोमबार जारी गरेको पूर्वानुमानमा भनेको छ कि ‘मोन्था’को प्रभावले महाराष्ट्रको विदर्भ क्षेत्रमा अक्टोबर २८ देखि ३० सम्म मध्यमदेखि भारी वर्षा गराउन सक्छ।

नेपालमा पनि ‘मोन्था’को अप्रत्यक्ष प्रभाव पर्ने मौसमविद्हरूले बताएका छन्। भारतमा सक्रिय भएको केही दिनपछि यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्ने सम्भावना छ।

विभागका अनुसार, बिहीबारदेखि पूर्वी नेपालमा यो सक्रिय हुने र यसको प्रभाव कोशी प्रदेश, मधेश हुँदै मध्य नेपालसम्म पुग्ने अनुमान गरिएको छ। यस अवधिमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने सम्भावना छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका