
काठमाडौं। श्रीलंकामा लगातार परेको भारी वर्षाका कारण उत्पन्न बाढी र पहिरोले यस हप्तामा ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ। विभिन्न स्थानमा आएका बाढी तथा पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।
यो हालैका वर्षहरूमा श्रीलंकामा आएको सबैभन्दा गम्भीर मौसमी प्रकोप मध्ये एक मानिएको छ। डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार चिया बगानका लागि प्रसिद्ध बदुल्ला जिल्लामा राति आएको पहिरोमा मात्र २१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीका कारण घरहरूले समेत बगाइरहेका दृश्यहरू देखिएका छन्। प्रभावित परिवारहरूलाई विभिन्न स्थानमा अस्थायी आश्रयस्थल स्थापना गरी बसोबास गराइएको छ।
यता, पूर्वी तटको दिशातर्फ अघि बढिरहेको ‘दित्वाह’ नामक चक्रवातका कारण आगामी दिनहरूमा थप प्रतिकूल मौसम आउन सक्ने चेतावनी दिइएको छ। गहिरो वायुदबावको क्षेत्रबाट सुरु भएको यो प्रणाली तीव्र रूपमा विकसित हुँदै चक्रवातमा परिणत भएको हो। यसले भारतको तटीय क्षेत्रमा ल्यान्डफल गर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
डीएमसीका अनुसार हालसम्मका बाढी र पहिरोले हजारौं नागरिक विस्थापित भएका छन्। पछिल्लो प्रतिवेदनअनुसार प्रकोपले १७ जिल्लाका करिब १,१५८ परिवार (लगभग ४,००० व्यक्ति) प्रभावित बनेका छन्।
त्यस्तै, १० जना घाइते, ३ घर पूर्ण रूपमा क्षति, र ३८१ घर आंशिक क्षति भएको उल्लेख छ। १३१ जनालाई सुरक्षित केन्द्रमा सारिएको छ।
निरन्तर वर्षाका कारण विशेषगरी मध्य र पहाडी क्षेत्रहरूमा थप बाढी तथा पहिरोको जोखिम उच्च रहेको र मुख्य–मुख्य सडक अवरुद्ध हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।
उस्तै, बिग्रँदो मौसमी अवस्थालाई ध्यानमा राख्दै परीक्षा बोर्डले बिहीबार, शुक्रबार र शनिबार निर्धारित विश्वविद्यालय परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ। भारी वर्षाका कारण धेरै जिल्लाहरूमा यातायात अवरुद्ध बनेको छ।
यसैबीच, आपतकालीन उद्धार टोलीहरू उच्च जोखिम भएका घटना–ग्रस्त क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। सरकारी निकायहरूले नागरिकलाई पहिरोको जोखिम र बढ्दो जलस्तरप्रतिको सतर्कता अपनाउन आग्रह गरेका छन्।





































