जोडिनुहोस
  • होमपेज
  • कुटानी–पिसानी मिल बनेको आम्दानीको स्रोत, मासिक एक लाख बढी बचत

कुटानी–पिसानी मिल बनेको आम्दानीको स्रोत, मासिक एक लाख बढी बचत

कञ्चनपुर। बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरीले कुटानी–पिसानी मिल सञ्चालन गरेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन्। एक दशकदेखि यो व्यवसायमा संलग्न चौधरीले सृजनशील बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर मिल सुरु गरेका थिए।

चौधरीले सहकारीबाट पटकपटक गरी रु २० लाख ऋण लिएको बताए। मिलमा गहुँको पिठो बनाउने, तोरीको तेल निकाल्ने र धान कुटानी गरी चामल निकाल्ने उपकरण जडान गरेका छन्। उनले आम्दानीबाट रु १८ लाख ऋण तिरिसकेको र अब दुई लाख मात्र बाँकी रहेको, जुन दुई–तीन महिनामा चुक्ता गर्ने योजना रहेको जानकारी दिए।

विगतमा व्यवसाय गर्ने पैसा नहुँदा खेतबारीमै समय बिताउने गरेको स्मरण गर्दै चौधरीले अन्नले खान मात्र पुग्ने र खर्चका लागि अभाव हुने गरेको बताए। सहकारीमा आबद्ध भएर ऋण लिएपछि पैसाको अभाव हटेको उनको भनाइ छ।

उनका अनुसार मिलबाट मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ। कामदारको ज्याला, उपकरण मर्मत र विद्युत् महसुल कटाएर मासिक रु ७० हजार बचत हुने गरेको छ, जुन रकम उनी सहकारीमा जम्मा गर्छन्। मिलको आम्दानीबाट उनले गाउँमा चार कठ्ठा जग्गा खरिद गर्नुका साथै दुई छोरालाई धनगढीमा उच्च शिक्षा दिलाइरहेका छन्।

सीमा क्षेत्र नजिकै भएकाले मिलमा भारतीय गाउँ टाटरगञ्जका नागरिक पनि कुटानी–पिसानीका लागि आउने गरेको उनले बताए। दैनिक चार क्विन्टलसम्म भारतीय गल्ला कुटानी–पिसानी हुने र नेपाली–भारतीय गरी दैनिक १० क्विन्टलसम्म काम हुने गरेको छ। नजिकै अन्य मिल नभएकाले ग्राहकको घुइँचो लाग्ने गरेको उनको अनुभव छ। तोरीको तेल पेल्न र कुटानी–पिसानी गर्न भारतीय ग्राहक बढी आउने गरेको र भारतीय मिलको तुलनामा यहाँ सस्तो भएकाले उनीहरू आकर्षित हुने गरेको उनले बताए। मिलमा ‘ब्रान’ छाडेमा धान कुटानी निःशुल्क गरिदिने व्यवस्था पनि छ।

गहुँ पिसानी गरेको प्रतिकिलो रु डेढ, मकैको रु अढाइ र तोरीको तेल निकालेको रु सात लिने गरेको उनले जानकारी दिए। धान कुटानीपछिको ब्रान र तोरीको पिना बेचेर थप आम्दानी हुने गरेको छ। बचत भएको रकमबाट बजार क्षेत्रमा जग्गा किनेर पक्की घर बनाउने योजना रहेको उनले बताए। ग्राहकलाई चाहिएको बेला सेवा दिने भएकाले मिलमा ग्राहकको कमी नहुने उनको विश्वास छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका