जोडिनुहोस
  • होमपेज
  • पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको खुला चुनौती – राजा बन्न मन छ भने चुनाव जितेर देखाउनुस्

पूर्वराजा ज्ञानेन्द्रलाई माधव नेपालको खुला चुनौती – राजा बन्न मन छ भने चुनाव जितेर देखाउनुस्

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कडा चुनौती दिएका छन्। उनले शाहलाई सिधा सम्बोधन गर्दै भने, “राजा बन्ने मन छ भने चुनाव जितेर आउनुस्, प्रधानमन्त्री बनेर देखाउनुस्।” पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा बोल्दै नेपालले गणतन्त्रको विकल्प राजतन्त्र होइन भन्ने स्पष्ट सन्देश दिए। “बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अनि पनातिलाई राजा बनाउनेरु हामी वंशवादी शासनको पक्षमा छैनौं,” उनले प्रष्ट पारे।

नेपालले गणतन्त्रका उपलब्धिहरूलाई कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसप्रति सावधानी अपनाउन आग्रह गरे। “केही भएन भन्ने भ्रम फैलाउनेहरू गलत छन्,” उनले भने, “हामीले गणतन्त्र ल्याउन अग्रगामी भूमिका खेलेका छौं, अब त्यसको रक्षा र संस्थागत गर्न जरुरी छ।” कम्युनिस्ट आन्दोलनमा पनि हिम्मत र स्पष्ट दृष्टिकोण नभएका तत्वहरू भएको उल्लेख गर्दै नेपालले भने, “हामी गलत प्रवृत्तिको विरुद्ध लडिरहेछौं। परिवर्तन सजिलो छैन, तर सम्भव छ।”

उनले भ्रष्टाचारविरुद्ध ठोस कदम नचाल्दासम्म जनविश्वास कायम नहुने चेतावनी पनि दिए। “कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढाउन हामीले आचरण र संस्कार सुध्र्याउनैपर्छ,” नेपालले जोड दिए।

अन्त्यमा, उनले गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिँदै भने, “इतिहासको पाङ्ग्रा पछाडि फर्कन सक्दैन। जनताको चाहनाविपरीत कुनै व्यवस्था फर्काउने सपना नदेखे हुन्छ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका