जोडिनुहोस
  • होमपेज
  • संरक्षण नहुँदा टेम्केसिद्ध मन्दिर जीर्ण

संरक्षण नहुँदा टेम्केसिद्ध मन्दिर जीर्ण

भोजपुर। भोजपुरको टेम्केडाँडामा अवस्थित प्रसिद्ध टेम्केसिद्ध मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ। समुद्री सतहबाट ३,१०० मिटर उचाइमा रहेको मन्दिरको छाना चुहिने, संरचना भत्किन थाल्ने र पशुचौपायाले फोहोर बनाउने जस्ता समस्या देखिएका छन्।

स्थानीयवासीका अनुसार सल्लाको काठ फुटाएर बनाइएको छानाबाट पानी चुहिन्छ। मन्दिर परिसरको घेराबारा भत्किएकोले पशुचौपाया पसेर फोहोर गर्ने समस्या बढेको छ। स्थानीय गणेश विष्टले मन्दिरको महत्वलाई बुझेको भए संरक्षणतर्फ चासो देखिनुपर्ने बताएका छन्।

“यो मन्दिर मात्र धार्मिक स्थल नभई पर्यटकीय सम्भावना बोकेको ठाउँ हो,” विष्टले भने, “संरक्षण गर्न सके आम्दानीको स्रोत बन्न सक्छ।” मन्दिर वरपर चरन क्षेत्र भएकाले पनि सरसफाइमा चुनौती देखिएको स्थानीयको भनाइ छ।

टेम्केसिद्ध मन्दिर धार्मिक आस्था र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य प्रष्ट देखिने भएकाले प्राकृतिक सौन्दर्य हेर्न पनि धेरै आउने गर्छन्। मन्दिर परिसरमा परेवा उडाउने, बलि दिने र पञ्चबलि चढाउने प्रचलन छ। बालाचतुर्दशी र रामनवमीमा भव्य मेला लाग्ने गरेको छ।

भोजपुरसहित खोटाङ, धनकुटा र सङ्खुवासभाबाट दर्शनार्थी आउने गर्छन्। स्थानीय शिवकुमार विष्टले मन्दिरको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन सके धार्मिक पर्यटन प्रवर्द्धन हुने धारणा राखेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका