जोडिनुहोस
  • होमपेज
  • वीरगञ्जमा हैजा सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै

वीरगञ्जमा हैजा सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै

वीरगञ्जमा फैलिएको झाडापखाला तथा हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ । सुरुवाती चरणमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार ८४ जना मात्र नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए । तीमध्ये ११ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो । तर सोही दिन १८ जना हैजा संक्रमितसहित १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

गत शुक्रबार तीन जनामा हैजा देखिएकोमा बिहीबार साँझ ५ बजेसम्मको परीक्षण परिणामअनुसार यो संख्या बढेर १४३ पुगेको छ । तर, उपचाररत बिरामीको संख्या भने घट्दै गएको स्वास्थ्य शाखाले जनाएको छ ।

झाडापखाला तथा हैजाका ६१२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए । तीमध्ये ४३४ जना उपचारपछि निको भई घर फर्किएका छन् भने १७८ जना मात्र अस्पतालमा उपचाररत छन् । जसमध्ये ६९ जना हैजा संक्रमित छन् ।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रका धाराबाट पानी संकलन गर्दै नियमित परीक्षणलाई तीव्रता दिएको छ । हैजाको स्रोत पत्ता लगाउन र पुनः सङ्क्रमण फैलिन नदिन यो कार्यलाई प्रभावकारी बनाइएको महानगरले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूले दूषित पानी र अस्वच्छ खानेकुराबाट हैजा फैलिने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

उमालेर मात्र पानी पिउनु, सरसफाइमा ध्यान दिनु र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्नुपर्ने सुझाव स्वास्थ्य शाखाले सर्वसाधारणलाई दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका