
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू र जेनजीका प्रतिनिधिबीच त्रिपक्षीय संवाद गर्ने भएकी छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सरकारको पहलमा पहिलोपटक यस्तो संवाद हुन लागेको हो। प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल जारी राखेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे हुने बैठकमा सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबीच निर्वाचनकेन्द्रित छलफल हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दल र सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा संवाद गर्दै आएको छ।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग पनि संवाद गरेकी थिइन्। सो अवसरमा दलहरूले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउन सरकारलाई आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्कीले जेनजी प्रतिनिधिहरूसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेकी छन्। सरकारले निर्वाचन तयारीका काम अघि बढाएको छ भने निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रका प्राविधिक तयारीहरू सुरु गरिसकेको जनाएको छ।





































