
बिराटनगर– मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको छ।
प्रहरीले आइतबार राती ११ बजे दुई जनालाई पनि पक्राउ गरेको छ।
शनिबार राति पनि मोरङको जहदा गाउँपालिका–२ तारिगामामा एक राउण्ड हवाई फायर गरी गाँजा ओसारपसारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
धनकुटाबाट मोरङतर्फ आउँदै गरेको प्रदेश १–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले केराबारी–५ लाफा टोलमा रोक्न खोजेको थियो । प्रहरीलाई देख्नासाथ एम्बुलेन्स चालक धनकुटाको सहिदभूमि गाउँपालिका–६ का ३५ वर्षीय निश्चल राई र एम्बुलेन्समा सवार साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय खगेन्द्र लिम्बू भागेका थिए।
एम्बुलेन्समा लोड गरिएको ४८० किलो हाराहारी गाँजा पनि बरामद गरेको प्रहरीले जनाएको छ।





































