
काठमाडौँ। प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर सातु र सर्वत दान एवं सेवन गरी श्रद्धापूर्वक मनाइँदै छ।
शास्त्रीय विधि अनुसार आज बिहानै उठेर घर लिपपोत गरी स्नानपश्चात् पूजा सामग्री तयार पारेर सङ्कल्प गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाली राखेर अष्टदलमा भगवान् विष्णुको षोडशोपचार विधिद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पूजा गरी शुद्ध जल तामा वा माटाका भाँडामा राखेर दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ।
विभिन्न पुराणहरूमा आजको दिन गरिएको स्नान, दान, ध्यान र जपलगायतका पुण्य कर्म कहिल्यै नाश नहुने उल्लेख छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने परम्परा वैदिक कालदेखि नै चलिआएको हो। धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार यी दुवै चीजले गर्मीबाट शरीरलाई बचाउनुका साथै शक्ति पनि प्रदान गर्दछन्। यिनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि सहयोग गर्दछन्।
प्रा डा भट्टराईले भने, “वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो। ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ।”
आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ। आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ।
मान्यता अनुसार सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको थियो। यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने विश्वास पनि छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ। यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ।





































