जोडिनुहोस
  • होमपेज
  • चाँगुनारायण मन्दिरमा भव्य रथ जात्रा सम्पन्न

चाँगुनारायण मन्दिरमा भव्य रथ जात्रा सम्पन्न

भक्तपुर । पाँच दिनसम्म चलेको चाँगुनारायण मन्दिरको परम्परागत रथ जात्रा आज अक्षय तृतीयाको दिन भव्य रूपमा सम्पन्न भएको छ। चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको खटलाई लहरै चाँगुमा बिसाएर सर्वसाधारणका लागि पूजा गर्ने व्यवस्था गरिएको थियो र बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको थियो।

आज साँझ तीनवटै खटलाई झल्लर फुलेका माला र पताःले सिँगारेर खटजात्रा गरियो। जात्रा सम्पन्न भएपछि देवताहरूलाई देवघरमा भित्र्याउने परम्परा रहेको मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जात्रा सञ्चालनमा नगरपालिकाले सहयोग गर्दै आएको बताए। उनले नगरकोट भ्रमण वर्ष–२०८२ आयोजना गरी जात्रा र पर्वलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने प्रयास भइरहेको जानकारी दिए। विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायणको महिमा विश्वभर फैलाउने र वर्षभरि हुने मेलापर्वमा पर्यटक आकर्षित गर्ने विभिन्न कार्यक्रम नगरपालिकाले अगाडि सारेको उनले बताए।

पाँच दिनसम्म चल्ने जात्राको क्रममा कसाइँ जातिले बाजागाजासहित काठमाडौँको डाँछीस्थित कान्तिभैरवमा पूजा गर्ने, भातबाटै भैरव, कालीलगायतका देवताको प्रतीक बनाएर पूजा गर्ने, छिन्नामस्ताबाट भैरवको मूर्ति र भातबाट बनाइएका देवतालाई कान्तिभैरव मन्दिरमा लगेर पूजा गर्ने जस्ता परम्पराहरू निर्वाह गरिएका थिए। यसरी पूजा गर्दा अनिकाल नहुने विश्वास गरिन्छ।

वैशाख कृष्ण त्रयोदशीका दिन नाइके खलकले नाय्खिं बाजा बजाउँदै नगर परिक्रमा गरी जात्राको सुरुवात गरेका थिए। चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवको खटजात्रा इकुटोलमा पुर्‍याई स्थानीयको पूजाका लागि राखिएको थियो। विभिन्न गुठीका गुठियारले धिमे, नाय्खिं, दाफा र अन्य बाजा बजाउँदै बलम्बु टोलमा देवतालाई राखेका थिए जहाँ भैरवलाई बलि र अन्य देवतालाई नैवेद्य चढाइएको थियो।

वैशाख शुक्ल प्रतिपदाका दिन मतयाः गर्ने, बत्ती बाल्ने र राजारानीको प्रतीकका रूपमा देवतालाई सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराउने परम्परा छ। रातभर जात्रा गरी बलि दिएर देवताको पूजा गरिन्छ। यो परम्परा पाटनका राजा योगनरेन्द्र मल्लले सुरु गरेको विश्वास गरिन्छ।

वैशाख शुक्ल द्वितीयाका दिन कान्ति भैरवलाई नगर परिक्रमा गराई काठमाडौँको डाँछी, ब्रह्मखेल, नयाँगाउँ, भद्रवासदेखि साँखुसम्म लगेर रातभर त्यहाँ राखी भोलिपल्ट चाँगुनारायण फर्काउने परम्परा अनुसार जात्रा सम्पन्न भएको पुजारी राजोपाध्यायले बताए। चाँगुनारायण र किलेश्वर महादेवको खटलाई भुइँमा नबिसाई रथ बोकेरै जात्रा गर्ने किंवदन्ती छ।

स्वयम्भू महापुराणमा उल्लेख भएअनुसार परापूर्वकालमा श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्व र नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्ति भैरवलाई लिई चाँगुनारायण र काठमाडौंवासीले संयुक्त रूपमा यो जात्रा मनाउने गरेका थिए। बौद्ध र हिन्दू समुदायबीच समन्वय रहेको यो जात्रा दुई जिल्लाबीचको सांस्कृतिक सम्बन्धको प्रतीक मानिन्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका