जोडिनुहोस
  • होमपेज
  • त्रिशूली नदीमा तिब्बतबाट आएको बाढीले खतरा बढायो, स्थानीयलाई सतर्क रहन आग्रह

त्रिशूली नदीमा तिब्बतबाट आएको बाढीले खतरा बढायो, स्थानीयलाई सतर्क रहन आग्रह

नुवाकोट । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीमा पानीको सतह अत्यधिक बढेको छ। नदीको बहाव तीव्र भएपछि त्रिशूली आसपासका क्षेत्रहरूमा डुबान र कटानको जोखिम उच्च बनेको छ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँका अनुसार पैरेबेसीँ, बेत्रावती, त्रिशूली र देवीघाटलगायतका स्थानमा नदीको कटान बस्ती नजिक पुगेको छ। सुरक्षा निकायले माइकिङमार्फत नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित त्रिशूली–काठमाडौँ प्रसारण लाइनको सबस्टेशनमा थप क्षति पुर्‍याएको छ। गत असार २४ मा आएको बाढीभन्दा ठूलो बाढी आज बिहान ३ बजे तिब्बती क्षेत्रको ल्हेन्दे खोलाबाट आएको हो।

रसुवा प्रशासनका अनुसार अहिले पनि त्रिशूली नदीमा पानीको सतह बढ्दो क्रममा छ। डुबान र भौतिक संरचनामा क्षति बढ्न थालेपछि रसुवा र नुवाकोट दुवै जिल्लाका प्रशासन र स्थानीय तहले सतर्कता अपनाएका छन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार जोखिम क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मी र स्थानीय तह उच्च सतर्कतामा रहेको जनाइएको छ।

धेरै टिप्पणी गरिएका