
भक्तपुर। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा पछिल्लो एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन्। पर्यटक आगमनबाट एक करोड १९ लाख १० हजार ४०० रुपैयाँ राजस्व संकलन भएको छ।
चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार भारतलगायत सार्क राष्ट्रबाट ५ हजार ७५६ र अन्य देशबाट २५ हजार ४५९ पर्यटक चाँगुनारायण आएका हुन्।
सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति ३०० रुपैयाँका दरले १७ लाख २६ हजार ८०० संकलन भएको छ भने अन्य राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति ४०० रुपैयाँका दरले एक करोड एक लाख ८३ हजार ६०० रुपैयाँ संकलन भएको हो।
नगर प्रमुख जीवन खत्रीका अनुसार संकलित पर्यटन शुल्क चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका अन्य ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा प्रयोग गरिँदै आएको छ।




































