जोडिनुहोस
  • होमपेज
  • गाजामा हरेक पल मृत्युको नजिक पुग्छन् पत्रकारहरू

गाजामा हरेक पल मृत्युको नजिक पुग्छन् पत्रकारहरू

‘मैले कहिल्यै कल्पना गरेको थिइनँ कि एक दिन टेन्टमा बसेर काम गर्नुपर्नेछ, जहाँ पानी र बाथरूमजस्ता आधारभूत सुविधा पनि नहुनेछन्,’ इजरायलको द्वन्द्वग्रस्त क्षेत्र गाजामा कार्यरत स्थानीय पत्रकार अब्दुल्लाह मिकदादले बीबीसीसँग कुरा गर्दै भने ।

‘गर्मीमा यो ठाउँ असह्य तातो हुन्छ भने जाडोमा फ्रिजजस्तै चिसो,’ उनी भन्छन् । गाजामा पत्रकारहरू कपडा र प्लास्टिकबाट बनेका टेन्टमा बस्छन् र त्यहीँबाट काम गर्छन् । यी टेन्टहरू प्रायः अस्पतालहरूको वरिपरि राखिएका हुन्छन् । उनीहरूलाई काम गर्न २४ घण्टा बिजुली र इन्टरनेट आवश्यक हुन्छ, तर गाजामा नियमित रुपमा बिजुली छैन । त्यसैले उनीहरू अस्पताल नजिक बस्छन्, जहाँ जेनरेटरमार्फत फोन र उपकरण चार्ज गर्न पाइन्छ ।

अन्तर्राष्ट्रिय मिडिया गाजाका स्थानीय पत्रकारहरूमै भर पर्न बाध्य छ, किनकि इजरायलले विदेशी मिडियालाई त्यहाँ काम गर्न अनुमति दिएको छैन । अपवादका केही अवस्थामा मात्र इजरायली सेनासँगको समन्वयमा विदेशी पत्रकारलाई गाजामा प्रवेश दिइन्छ ।

युद्धको कठिन र खतरनाक परिस्थितिमा पनि गाजाका पत्रकारहरूले लगातार रिपोर्टिङ गरिरहेका छन् । तर प्रायः तस्बिर वा भिडियो पठाउन उनीहरू अस्पताल नजिकैको टेन्टमा फर्केपछि मात्र सम्भव हुन्छ, जहाँ थोरै बिजुली र इन्टरनेट उपलब्ध हुन्छ ।

बीबीसीसहित अन्तर्राष्ट्रिय संस्थाहरूसँग काम गर्ने प्यालेस्टिनी पत्रकार हनीन हमदौना भन्छिन्, ‘अस्पताल नजिक बस्दा हाम्रो रिपोर्टिङ छिटो हुन्छ । हामी घाइते, मृतक, अन्तिम संस्कार र अन्तरवार्तालाई प्रत्यक्ष कभर गर्न सक्छौं ।’

तर, अस्पताल नजिक बस्नु सुरक्षाको ग्यारेन्टी भने होइन ।

इसराइल–गाजा युद्ध अक्टोबर २०२३ देखि निरन्तर जारी छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)का अनुसार अगस्टसम्म कम्तीमा १५० भन्दा बढी पत्रकार र मिडियाकर्मीको मृत्यु भइसकेको छ, जसमा १०० भन्दा बढी गाजामै मारिएका छन् । यो संख्या विश्वभर तीन वर्षमा मारिएका पत्रकारको कुल संख्याभन्दा बढी हो ।

प्यालेस्टिनी जर्नालिस्ट्स सिन्डिकेटका महासचिव अहद फरवाना भन्छन्, ‘पत्रकार भएको नाताले हामीलाई सधैं लाग्छ कि हामी इजरायली सेनाको निशानामै छौं । हामी आफ्नो र आफ्ना परिवारको सुरक्षाप्रति लगातार त्रसित रहन्छौं ।’

करिब दुई वर्षदेखि हत्या, भोक, डर र विस्थापनबीच पनि गाजामा पत्रकारहरूले रिपोर्टिङ रोक्न सकेका छैनन् । उनीहरू लगातार काम गर्दा थाकिसकेका छन् । यसले गर्दा त्यहाँका धेरै युवालाई, जसले पहिले पत्रकारिता गरेका थिएनन्, रिपोर्टर वा फोटो पत्रकार बन्ने अवसर मिलेको छ ।

कतिपय पत्रकारले स्थानीय वा अन्तर्राष्ट्रिय मिडियासँग औपचारिक रूपमा काम गर्छन्, तर धेरैजसो अस्थायी करारमा छन् । त्यसैले उनीहरूले आधिकारिक पत्रकारजस्तै सुरक्षा, बीमा वा स्रोतसाधन पाउँदैनन् ।

पाँच पत्रकारको मृत्यु

इजरायलले पत्रकारहरूलाई निशाना नबनाउने दाबी गर्दै आएको छ । तर उसले अल–जजीराका पत्रकार अनस अल–शरीफको मृत्युको जिम्मेवारी स्वीकार गरेको थियो ।

१५ अगस्टमा इजरायलको हवाई आक्रमणमा शरीफको मृत्यु उनको पत्रकारिता टेन्टमै भएको थियो । उक्त आक्रमणमा अन्य पाँच पत्रकार र एक व्यक्ति मारिएका थिए ।

खान युनिसस्थित नासिर अस्पतालमा भएको दोहोरो आक्रमणमा पत्रकारहरू हुसाम अल–मसरी, मरियम अबु दग्गा, अहमद अबु अजीज, मोहम्मद सलामा र मोआज अबु ताहा मारिएका थिए ।

इजरायलले शरीफ हमाससँग सम्बन्धित रहेको आरोप लगाए पनि उनले अस्वीकार गरेका थिए । सीपीजेका अनुसार इजरायलले आफ्नो दाबी प्रमाणित गर्ने कुनै प्रमाण प्रस्तुत गरेको छैन ।

भोक, पीडा र थकाइबीच रिपोर्टिङ

१७ अगस्टमा संयुक्त राष्ट्रसँग सम्बन्धित एक निकायले गाजा सिटीमा अकालको स्थितिलाई पुष्टि गरेको थियो । इण्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेशन ९आईपीसी० ले गाजालाई फेज ६ अर्थात् ‘सबैभन्दा गम्भीर’ श्रेणीमा राखेको छ ।

आईपीसीका अनुसार त्यहाँ ५ लाखभन्दा बढी मानिस भोकमरी, गरिबी र मृत्युको भयावह अवस्थामा छन् । पत्रकारहरू पनि त्यही अवस्थामा छन् ।

स्वतन्त्र पत्रकार अहमद जलाल भन्छन्, ‘कतिपय दिन हामीले केवल एक कप कफी ९जसमा चनाको पाउडर हालिएको हुन्छ० वा चिनीबिनाको चिया मात्र पिउनु पर्छ ।’

उनी थप्छन्, ‘हामीलाई भीषण टाउको दुखाइ र थकाइ हुन्छ । भोकका कारण हिँड्नै गाह्रो हुन्छ । तर पनि हामी समाचार बाहिर पुगोस् भनेर काम जारी राख्छौं ।’

अहमद आफ्नो परिवारसहित पटक–पटक विस्थापित हुन बाध्य भएका छन् । हरेक पटक भोजन, पानी र आश्रयको संघर्षबीच उनले पत्रकारिता जारी राखेका छन् । उनका छोरालाई शल्यक्रिया आवश्यक छ, तर युद्धका कारण उपचार सम्भव भएको छैन ।

‘म साथी पत्रकारहरूको मृत्युबारे रिपोर्ट गर्दा भित्रैदेखि विचलित हुन्छु । कहिले म पनि मारिन्छु भन्ने डर लाग्छ । यो पीडाले भित्रैदेखि तोड्छ, तर पनि म क्यामेराको अगाडि देखाउन सक्दिनँ—र काम गर्नै पर्छ,’ उनले भने ।

निरन्तर मानसिक दबाब

गादा अल–कुर्द करिब दुई वर्षदेखि आफ्नो शहरमा मृत्यु र भोकमरीका समाचार कभर गर्दै आएकी छन् । तर यसबीच उनले आफ्ना भावनाहरू प्रकट गर्न सकेकी छैनन् ।

‘हामी कस्तो महसुस गरिरहेका छौं भन्ने सोच्ने समयसम्म छैन,’ उनले भनिन् । ‘यो युद्धले भावनाहरू व्यक्त गर्ने क्षमता नै हरायो । शायद यो क्षमता युद्ध सकिएपछि मात्र फर्केला ।’

अन्तर्राष्ट्रिय दबाब

बेलायत, फ्रान्स, जर्मनी, अस्ट्रेलिया र जापानसहित ३५ देशहरूले संयुक्त रूपमा बयान जारी गर्दै इजरायललाई विदेशी पत्रकारलाई तुरुन्तै गाजामा प्रवेश दिन माग गरेका छन् ।

पत्रकारहरूको अधिकार र सुरक्षाका लागि वकालत गर्ने मिडिया फ्रिडम कोएलिसनले आफ्नो वक्तव्यमा गाजामा पत्रकारमाथि भएका आक्रमणको निन्दा गरेको छ ।

गाजाबाट फोटो पत्रकार अमेर सुल्तानको रिपोर्टिङका आधारमा बीबीसीले तयार पारेको आलेख

प्रचलन खबर

धेरै टिप्पणी गरिएका