जोडिनुहोस
  • होमपेज
  • सिद्धार्थ राजमार्ग स्तरोन्नति : ४५ किलोमिटर यात्रा छोटिने, डबल लेन ‘गेम चेन्जर’ योजना

सिद्धार्थ राजमार्ग स्तरोन्नति : ४५ किलोमिटर यात्रा छोटिने, डबल लेन ‘गेम चेन्जर’ योजना

काठमाडौं। बुटवल–पोखरा खण्डको सिद्धार्थ राजमार्ग अब डेडिकेटेड डबल लेनमा स्तरोन्नति हुने भएको छ। ४८ वर्षअघि निर्माण भएको यस राजमार्गको सुधारले यात्राको दूरी १५७ किलोमिटरबाट ११२.८१ किलोमिटरमा घट्नेछ र यात्रा समय हालको करिब ६ घण्टाबाट २.५ घण्टामा सीमित हुनेछ।

चालु आर्थिक वर्षको बजेटमा यस राजमार्गलाई स्तरोन्नति गर्ने निर्णय भइसकेको छ। सडक सुधार अन्तर्गत पहाडका गल्छी र खोचहरूमा सुरुङ र वायाडक्ट निर्माण गरिनेछ। प्रारम्भिक अनुमान अनुसार यसमा करिब १९ अर्ब ७५ करोड रुपैयाँ लागत लाग्नेछ।

यसमा २३ किलोमिटरका ८ वटा सुरुङ, १४ वटा पुल, २७ वटा वायाडक्ट निर्माण गरिनेछ भने ११ किलोमिटर नयाँ सडक पनि बनाइनेछ। कास्कीदेखि पाल्पासम्मका विभिन्न खण्डमा हजार मिटरभन्दा बढी लामो सुरुङ निर्माण हुने परियोजनामा उल्लेख छ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार, “बुटवल–पोखरा सडकलाई ‘गेमचेन्जर’ परियोजना बनाउँदैछौं। यसले यात्रुलाई सहजता मात्रै दिने छैन, पर्यटन र आर्थिक क्रियाकलापमा पनि ठूलो योगदान पुर्याउनेछ।”

तानसेन र पुतलीबजार क्षेत्रमा स्थानीय अधिकारीहरूले पनि राजमार्ग स्तरोन्नति भएपछि कृषि उत्पादन र पर्यटनमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। पुतलीबजारमा घर भत्काउनु नपर्ने बाइपास सडक निर्माण गर्ने प्रस्ताव समेत डीपीआरमा समावेश गरिएको छ।

सडक विभागले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार गरिसकेको छ। वन मन्त्रालयबाट ईआईए स्वीकृत भएपछि परियोजना कार्यान्वयनको चरण सुरु हुने बताइएको छ। सिद्धार्थ राजमार्ग स्तरोन्नति भएपछि लुम्बिनी–पोखरा पर्यटकीय कनेक्टिभिटी बलियो हुनेछ र यात्रुहरूले छोटो समयमा सुरक्षित तथा सहज यात्रा गर्न सक्नेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका