
महोत्तरी। दीपावली र छठजस्ता मुख्य पर्व सम्पन्न भए पनि महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाउँदा बेचैन छन्। बुधबार मध्यरातपछि लगातार परेको पानीले काट्न, चुट्न र धान थन्क्याउन लागेको कार्यमा बाधा पुर्याएको छ। बिहानसम्म झमझम वर्षा भइरहेकाले खेतमा पाकेको धान अझै जोखिममा परेको किसानहरू बताउँछन्।
मधेसका उत्तरी क्षेत्र—बर्दिबास, गौशाला र भङ्गाहा—मा धान अहिले पहेँलपुर अवस्थामा पुगेको छ। किसानहरू चाडपर्वपछि धान काटेर निहिनमा सुकाउने तयारीमा थिए, तर मौसमको अनियमितताले योजना प्रभावित भएको छ। भङ्गाहा–५ का ६० वर्षीय रामजुलुम बाँतरले बताए, “धान काट्ने समयमा पानी परेपछि बोटबाटै झरेको छ, सुकाउने काम बिग्रियो।”
उत्तरी मधेसमा धान चाँडै पाक्ने हुँदा गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइन्छ। तर यस वर्षको बर्खाकालमा लामो समय सुक्खा रहँदा रोपाइँ ढिलो भयो, जसले धानको पक्ने समय पनि कात्तिक दोस्रो साता पुगेको छ। यसैले किसान अहिले थप चुनौतीको सामना गरिरहेका छन्।
धेरै किसानले अब दुई–चार दिनपछि मात्रै धान काट्न सकिने बताउँछन्। यस ढिलाइले गहुँ छर्ने, आलु रोप्ने र अन्य दलहनबाली लगाउने काम पनि प्रभावित हुने सम्भावना छ। उखु रोप्ने तयारी गरेका किसान पनि बेमौसमी वर्षाबाट चिन्तित छन्। बर्दिबास–९ का रामविनोद महतो भन्छन्, “तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि समस्या भयो, समयमै बिक्री नगरेमा ढुसी र किराले नोक्सान पुर्याउँछ।”
किसानका अनुभव अनुसार, खेतीको कामको समय घर्किँदा त्यसको प्रभाव पछिसम्म रहन्छ। मुख्यबाली धान थन्क्याउन अनुकूल समय बिग्रँदा उत्तरी क्षेत्रका किसान अझै बढी पिरोलिएका छन्।
यसबीच, मधेस प्रदेश सरकारले बंगालको खाडीबाट आउने मोन्था चक्रवातको प्रभावको पूर्वसूचना दिँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई “सावधानी अपनाएर अनुकूल मौसम नआउँञ्जेल धान नकटाउन” अपिल गर्नुभएको छ। मौसमविद्हरूका अनुसार यो असामयिक वर्षा शनिबारसम्म रहन सक्ने अनुमान छ।
प्रदेश सरकारले नदी बहाव बढ्न सक्ने र तटीय क्षेत्रमा जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। किसानहरूलाई बेमौसमी वर्षा, चोटिलो पानी र मौसमी अनियमितताले सिर्जना गरेको चुनौतीले खेतीपातीमा थप दबाब परेको छ।



































