जोडिनुहोस
  • होमपेज
  • समानुपातिक बन्दसूचीमा देखिएका त्रुटि सच्याउन निर्वाचन आयोग सक्रिय

समानुपातिक बन्दसूचीमा देखिएका त्रुटि सच्याउन निर्वाचन आयोग सक्रिय

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत राजनीतिक दलले पेस गरेका बन्दसूचीमा देखिएका कमजोरी सच्याउने प्रक्रिया अघि बढाएको छ। यस क्रममा आयोगले सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर चरणबद्ध रूपमा छलफल गरिरहेको जनाएको छ।

आयोगका अनुसार सूचीमा समावेशी समूह (क्लष्टर) मिलान भए–नभएको, उम्मेदवारको विवरण लगायत विषयमा जाँचबुझ भइरहेको छ। सहायक प्रवक्ता कुलबहादुर जिसीले सूची परीक्षणपछि देखिएका त्रुटिबारे दलका प्रतिनिधिसँग प्रत्यक्ष छलफल भइरहेको जानकारी दिए। बुधबार १२ दलसँग छलफल सम्पन्न भएको र बाँकी दलसँग पनि छलफल जारी रहने उनले बताए।

यसअघि पुस १३ र १४ गते ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए। तीमध्ये २२ दलले मात्रै सबै ११० स्थानमा उम्मेदवारी दर्ता गरेका छन्। आयोगका अनुसार औसतमा प्रत्येक निर्वाचन चिह्नमा ६० जना उम्मेदवार रहेका छन् भने न्यूनतम ११ स्थानमा मात्रै सूची पेस गर्ने दलको सङ्ख्या १० रहेको छ। एकल निर्वाचन चिह्न प्रयोग गर्ने दल पनि १० रहेको आयोगले जनाएको छ।

यद्यपि समानुपातिक प्रणालीमा उम्मेदवारी दिन ९३ दलले आवेदन दिए पनि बन्दसूची पेस गर्ने दलको सङ्ख्या ६४ मै सीमित भएको छ। आयोगले पुस २१ देखि २७ गतेसम्म दललाई सूची सच्याउन समय दिनेछ भने संशोधित सूचीको पुनः परीक्षण पुस २८ देखि माघ ३ गतेसम्म गरिनेछ। अन्तिम बन्दसूची आगामी माघ २० गते सार्वजनिक गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

समानुपातिक प्रणालीअन्तर्गतको निर्वाचन व्यवस्थापनका लागि आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा तथ्याङ्क, प्रविधि तथा कानुन क्षेत्रका विज्ञहरू परिचालित रहेका छन्।

धेरै टिप्पणी गरिएका