
काठमाडौं । सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने सशस्त्र प्रहरीका एक हवल्दार पक्राउ परेका छन्।
बिहीबार बिहान करिब १ बजे भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा संलग्न हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुनसरी प्रहरीका प्रवक्ता तथा डीएसपी खड्काले जानकारी दिए।
घटनाको छानबिनका लागि हिजै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका एक अधिकृत सदस्य छन्।
घटनापछि लौकहीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबै सुरक्षा कर्मचारीलाई फिर्ता बोलाइएको छ।छानबिन समितिलाई ७ दिनको समय दिइएको र प्रतिवेदन प्राप्त भएपछि थप कदम चालिने सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।



































