जोडिनुहोस
  • होमपेज
  • मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरा र काठमाडौंमा

मतदाता खोज्दै मुस्ताङका उम्मेदवार पोखरा र काठमाडौंमा

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा हिमालपारिको जिल्ला मुस्ताङमा भने चुनावी चहलपहल ‘हिउँजस्तै जमेर’ बसेको छ।

जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा घोषित यो निर्वाचन मुस्ताङका लागि प्रतिकूल समयमा परेको छ। बर्सेनि जाडो छल्न कात्तिक–मङ्सिरमै बेसी (पोखरा र काठमाडौँ) झर्ने मुस्ताङी परम्पराका कारण यतिबेला जिल्लाका बस्तीहरू सुनसान प्रायः छन्।

लोघेकर दामोदरकुण्ड र लोमान्थाङ जस्ता माथिल्लो मुस्ताङका पालिकाबाट करिब ८० प्रतिशत मतदाता जिल्लाबाहिर छन् भने तल्लो मुस्ताङका पनि ५० प्रतिशतभन्दा बढी नागरिक बेसी झरिसकेका छन्। जिल्लामा मतदाता नभएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू पनि भोट माग्न पोखरा र काठमाडौँका गल्लीहरू चाहर्न बाध्य भएका छन्। उम्मेदवारहरूले मतदाता भेट्न मुस्किल परेको र फोन सम्पर्ककै भरमा उनीहरू बसेको ठाउँ पहिल्याउनु परेको दुखेसो पोखेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन, नेकपा (एमाले) का इन्द्रधारा ढाडु विष्ट, रास्वपाका अधितीयचन्द्र थकाली र अन्य दलका उम्मेदवारहरू यतिबेला मुस्ताङ छोडेर काठमाडौँ र पोखराका मुस्ताङी समाजघरहरूमा केन्द्रित छन्। फागुनमा पनि मुस्ताङमा चिसो कायमै रहने भएकाले मतदाताहरू वैशाखअघि जिल्ला फर्कन अनिच्छुक देखिन्छन्। यसले गर्दा निर्वाचनको दिन मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउन राजनीतिक दलहरूलाई ठूलो चुनौती हुने देखिएको छ।

जिल्लामा मतदाता र उम्मेदवार नभए पनि निर्वाचन कार्यालय र सुरक्षा निकायले भने आफ्नो तयारी तीव्र पारेका छन्। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार ३९ वटा मतदान केन्द्रको अनुगमन र सुरक्षा योजना तयार भइसकेको छ। कुल ११ हजार ३२८ मतदाता रहेको मुस्ताङमा यसपटक आठवटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन्। मतदातालाई मतदानका लागि जिल्ला फर्काउने विषय नै अहिले यहाँको मुख्य चुनौती बनेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका