
सन् २०२६ को पहिलो महिनामा ९२ हजार भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।
जनवरीमा ९२ हजार ५७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।
कोभिड–१९ महामारीअघि सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।
सन् २०२६ को पहिलो महिनाको तथ्यांक अनुसार सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । उक्त महिना भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो ।
त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ । मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ ।
सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत भएको नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले बताए ।
उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो ।
यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताए।





































