जोडिनुहोस
  • होमपेज
  • नेपालका ७ जिल्लामा भारतको ४७ करोड सहयोगमा विकास आयोजना सञ्चालन हुने

नेपालका ७ जिल्लामा भारतको ४७ करोड सहयोगमा विकास आयोजना सञ्चालन हुने

काठमाडौँ । भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबिच बिहीबार सातवटा उच्च प्रभाव सामुदायिक विकास आयोजना कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन हुने यी आयोजनाहरूको कुल अनुमानित लागत ४७ करोड ३० लाख नेपाली रुपैयाँ रहेको छ । यी आयोजनाहरू अन्तर्गत नवलपुरको मध्यबिन्दु नगरपालिका र तेह्रथुमको लालिगुराँस नगरपालिकामा शीत भण्डार ९कोल्ड स्टोर० निर्माण गरिनेछ । त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकास्थित जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र क्यान्टिन निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

सुदूरपश्चिमको कैलालीस्थित श्री कालिका प्राथमिक विद्यालय, कर्णालीको डोल्पास्थित श्री कस्तुरी माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको बाँकेस्थित श्री जन कल्याण माध्यमिक विद्यालयका लागि नयाँ विद्यालय भवनहरू निर्माण गरिनेछन् । मधेस प्रदेशको रौतहटस्थित परोहा नगरपालिकामा बर्थिङ सेन्टरको निर्माण पनि यसै योजना अन्तर्गत समेटिएको छ ।

यी सातवटै आयोजनाहरू नेपालका सम्बन्धित नगरपालिका र गाउँपालिका लगायतका स्थानीय तह र सरकारी संस्थाहरू मार्फत कार्यान्वयन हुनेछन् । सन् २००३ देखि भारत सरकारले नेपालका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा ५९८ वटा यस्ता सामुदायिक विकास आयोजनाहरू अघि बढाइसकेको छ । तीमध्ये ५०६ वटा आयोजनाहरू सम्पन्न भइसकेका छन् भने बाँकी कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

नेपाल र भारतबिचको बहुआयामिक सहकार्यको एउटा महत्त्वपूर्ण कडीका रूपमा रहेका यी आयोजनाहरूले नेपालको पूर्वाधार विकासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।