
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ सुरु गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचनका लागि आवश्यक सामग्री पु¥याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गर्न लागिएको जानकारी गराए । समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ सुरु गर्न लागिएको बताए ।
प्रत्यक्ष निर्वाचनतर्फको मनोनयपत्र भने निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते तोकिएको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा फरक मतपत्र चाहिने भएको माघ ९ गते पछि मात्र छपाइ सुरु गरिने प्रवक्ता भट्टराईले बताए । दुवै निर्वाचन प्रणालीलाई गरी चार करोड मतपत्र छाप्न लागिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ दुई करोड र समानुपातिकतर्फ पनि दुई करोड गरी चार करोड मतपत्र छाप्न लागिएको हो ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । मतदाता सङ्ख्याका आधारमा दुवै निर्वाचन प्रणालीतर्फ दुई/दुई करोड गरी चार करोड मतपत्र छपाइ गर्न लागिएको हो । २०७९ सालमा मत हालेकासम्मलाई मतदाता परिचयपत्र दिइएकाले यस वर्ष नयाँ मतदाता बनेकालाई परिचयपत्र पनि दिइने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्व गराउन बन्दसूचीलाई सच्याइने पनि प्रवक्ता भट्टराईले बताए । मतदान पूर्वका सबै निर्वाचनसम्बन्धी काम नेपाल प्रहरी हेर्ने छ । मतदानपछिका काम हेर्ने गरी नेपाल प्रहरी निर्वाचन प्रहरी छनोट गर्ने जनाइएको छ ।






























