जोडिनुहोस
  • होमपेज
  • सोसल मिडियाको विवाद सडकसम्म, वीरगन्जमा प्रदर्शन चर्किँदा मधेसका आठ जिल्ला सतर्क

सोसल मिडियाको विवाद सडकसम्म, वीरगन्जमा प्रदर्शन चर्किँदा मधेसका आठ जिल्ला सतर्क

काठमाडौं । सोसल मिडिया प्लेटफर्म टिकटकबाट सुरु भएको विवादले मधेस प्रदेशको सुरक्षा अवस्था संवेदनशील बनेको छ। आइतबार बिहानदेखि वीरगन्ज तनावग्रस्त बनेपछि प्रदेशका आठवटै जिल्लामा सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रहरीका अनुसार सम्भावित झडप हुनसक्ने स्थान पहिचान गरी ती क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। धनुषाबाट सुरु भएको विवाद वीरगन्जसम्म फैलिँदा स्थानीय युवाहरू आन्दोलित बनेका हुन्। केही दिनअघि धनुषा जिल्लाको जनकपुर क्षेत्रमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमा अपलोड गरेको विवादस्पद भिडिओले धार्मिक सहिष्णुतामा असर पुगेको भन्दै स्थानीय तहमा विरोध सुरु भएको थियो। उक्त भिडिओप्रति आपत्ति जनाउँदै स्थानीयले दुवै युवालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए।

इलाका प्रहरी कार्यालय खजुरीमा घटनाबारे छलफल भइरहँदा पक्राउको पक्ष र विपक्षमा उत्रिएका समूहबीच झडप भएको थियो। त्यसयता धनुषाको खजुरी र जनकपुर क्षेत्र तनावको केन्द्र बनेको थियो। यही घटनासँग जोडेर सामाजिक सञ्जालमा भइरहेको बहस र प्रतिक्रिया वीरगन्जसम्म फैलिँदा आइतबार बिहानै घण्टाघर र आसपासका क्षेत्रमा युवाहरूले टायर बालेर प्रदर्शन गरेका छन्। स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको जनाएको छ।

नेपाल प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार टिकटकमार्फत फैलिएको अभद्र टिप्पणीले धार्मिक तथा साम्प्रदायिक भावना चोट पुगेपछि अवस्था जटिल बनेको हो। “सुरक्षा चुनौती बढेपछि प्रदेशभरि नै उच्च सतर्कता अपनाइएको छ,” उनले बताए। धनुषा र पर्सामा देखिएको अशान्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। साथै स्थानीय धार्मिक समुदाय, राजनीतिक दल र सरोकारवालासँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको प्रहरीले जानकारी दिएको छ।

भारतसँग सीमा जोडिएको वीरगन्जमा प्रदर्शन फैलिनु सुरक्षा दृष्टिले संवेदनशील मानिँदै आएको छ। यही कारणले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले मधेस प्रदेशका सबै आठ जिल्लामा सुरक्षा व्यवस्था कडा बनाएको हो। प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा भए पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रदेशभर निगरानी र सुरक्षा सतर्कता अझै कायम राखिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
No-deposit Totally free Revolves Incentive