
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन हुन अब ५६ दिन बाँकी रहँदा पनि नयाँ संसद् बैठक कहाँ बस्ने भन्ने अझै टुङ्गो लागेको छैन। फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने तय भए पनि संसद् भवनको अन्योल कायमै छ।
नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडपछि प्रयोग गर्न नसकिने अवस्थामा छ। सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन कहिले सम्पन्न हुन्छ भन्ने निश्चित छैन। त्यसैले निर्वाचनपछि संसद् बैठक कहाँ सञ्चालन गर्ने भन्ने विषयमा अन्योल देखिएको हो।
क्षतिग्रस्त पुरानो संसद् भवनको पुनर्निर्माण प्रक्रिया सुरु हुन सकेको छैन। उता, नयाँ संसद् भवन निर्माणको ठेकेदार कम्पनीले छैटौँ पटक म्याद थपका लागि सरकारसमक्ष निवेदन दिएको छ। कम्पनीले थप नौ महिना समय माग गरेको छ। यसअघि थप गरिएको म्याद पुस १६ गते सकिइसकेको छ। हाल भवन निर्माणको करिब १२ प्रतिशत काम बाँकी रहेको जनाइएको छ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सम्बन्धित मन्त्रीहरूले पटक–पटक निरीक्षण गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिए पनि निर्माणले गति लिन सकेको छैन। सहरी विकास मन्त्रालय अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार निर्वाचनपछि प्रतिनिधि सभा बैठक सञ्चालन हुने गरी काम तीव्र बनाउन निर्माण कम्पनीलाई ताकेता भइरहेको छ।
आयोजना कार्यालयका अनुसार भवनको मुख्य संरचना सम्पन्न भइसकेको छ। तर आन्तरिक सजावट, एचभिएसी, एमइपी, सम्मेलन कक्ष, बाटो र अन्य सहायक पूर्वाधारको काम बाँकी छ। करिब पाँच अर्ब तीन करोड रुपैयाँ लागतमा निर्माण भइरहेको संसद् भवनको ठेक्का नेपाली कम्पनी टुन्डी र चिनियाँ कम्पनी सेकले संयुक्त रूपमा पाएका छन्। २०७६ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि छ वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन।







































