
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहँदा पार्टीभित्र परिवर्तनको चाहना र उत्साह स्पष्ट देखिएको छ । महाधिवेशनस्थलमा भेला भएका नेता–कार्यकर्ताहरूले यो भेला सत्ता वा पदको संघर्षभन्दा पार्टीको नीति, सोच र कार्यशैली रूपान्तरणको अवसर हुनुपर्ने धारणा राखेका छन् ।
महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले कांग्रेस अब नीति र नेतृत्व दुवै तहमा परिवर्तनको चरणमा प्रवेश गरेको बताए । उनका अनुसार पार्टीभित्र अहिले शक्ति संघर्ष होइन, विचारको प्रतिस्पर्धा चलिरहेको छ । अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई विभाजन होइन, एकीकृत ढंगले पार्टी र देशको नेतृत्व गर्न सक्षम बनाउने लक्ष्यसहित विशेष महाधिवेशन आयोजना गरिएको स्पष्ट पारे । विशेष महाधिवेशनमा युवा पुस्तादेखि ज्येष्ठ नेतासम्मको उल्लेख्य सहभागिता देखिएको छ । सहमहामन्त्री फर्मुल्लाह मन्सुरले बन्दसत्रमा पार्टी सभापतिको उपस्थितिले एकताको सन्देश जाने भन्दै सहभागी हुन आग्रह गरे । नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले कांग्रेसभित्र देखिएका समस्या समाधानतर्फ मार्गचित्र कोर्ने विश्वास व्यक्त गरे ।
केन्द्रीय सदस्य महेश आचार्यले यो भेला विधानअनुसार पार्टी चल्नुपर्ने स्पष्ट सन्देश भएको बताए । उनका अनुसार अरूको कुरा नसुन्ने प्रवृत्तिलाई विशेष महाधिवेशनले चुनौती दिएको छ । नेता डा. चन्द्र भण्डारीले युवापुस्ताले उठाएका मुद्दालाई गम्भीर रूपमा सम्बोधन गर्न पार्टी नेतृत्व अग्रसर हुनुपर्ने बताए । नेता विनोद चौधरीले राजनीतिक स्थिरतासँगै आर्थिक रूपान्तरणको अपेक्षा जनतामा रहेकाले कांग्रेसले ती मागलाई प्राथमिकतामा राख्नुपर्ने बताए । देवराज चालिस र केदार कार्कीले पनि जेनजी पुस्ताको असन्तोष र अपेक्षालाई लोकतान्त्रिक ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत दुईपटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने प्रस्ताव अघि सारिने जानकारी दिए । उनले पुरानै शैलीबाट नयाँ भविष्य निर्माण गर्न नसकिने भन्दै समयअनुकूल सोच र व्यवहार परिवर्तन आवश्यक रहेको बताए । पार्टीका कमजोरीमा आफूहरू पनि जिम्मेवार रहेको स्वीकार्दै उनले विशेष महाधिवेशन कांग्रेस सुधारको संकल्प भएको उल्लेख गरे । विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानबाट बन्दसत्र सुरु हुने आयोजकले जनाएका छन् । हालसम्म दुई हजारभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबी आयोजक पक्षको छ ।
यद्यपि, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका अधिकांश पदाधिकारी महाधिवेशनमा सहभागी छैनन् । उनीहरूको अनुपस्थितिका बाबजुद भृकुटीमण्डपमा प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखिएको छ । विशेष महाधिवेशनलाई शक्ति संघर्षको केन्द्र होइन, पार्टी पुनर्जागरण, नीति सुधार र आन्तरिक एकताको अवसरका रूपमा प्रयोग गर्नुपर्ने सन्देश नेताहरूले दिएका छन् । कांग्रेसको भविष्य कस्तो बनाउने भन्ने बहससँगै महाधिवेशनको दोस्रो दिन नीति र संगठनात्मक विषयमा गहिरो छलफल हुने अपेक्षा गरिएको छ ।





































