
काठमाडौं । आईसीसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट अन्तर्गत जारी खेलमा नेपालले थाइल्याण्डलाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले थाइल्याण्डलाई जितको लागि १ सय २२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको हो । खेलमा राम्रो शुरूवात गरेको नेपाल सोहि लयलाई निरन्तरता दिन नसक्दा सामान्य योगफलमा समेटिएको हो । १३.३ ओभरमा दुई विकेटको क्षतिमा ८७ रन बनाएको नेपालले त्यसपछि लगातार विकेट गुमाएको हो । नेपालको लागि विन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । उनले ५६ बलमा ६ चौका प्रहार गरिन् । यस्तै सम्झना खड्काले २६, रुविना चौधरीले १७ र पुजा महतोले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
अब थाइल्याण्डले जवाफी ब्याटिङ गर्नेछ ।




































