जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आयोगले भन्यो – चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू, कारबाही हुनेछ

निर्वाचन आयोगले भन्यो – चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू, कारबाही हुनेछ

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्नहरू प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ ।

यस्ता चिह्नहरूको प्रयोगले सुरक्षा जोखिम बढेको र शान्ति सुरक्षामा प्रतिकूल असर परेको गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवारहरूले तोकिएको मापदण्ड बमोजिम कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका निर्वाचन चिह्नहरू मात्र प्रयोग गर्न पाउनेछन् । तर चुनाव चिह्नको आकारमा बनाइएका धातु वा काठका भौतिक वस्तुहरू साथमा बोकेर हिँड्न वा प्रदर्शन गर्न पाइने छैन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन निर्देशिका–२०८२ ले तोकेको मापदण्ड विपरीतका सामग्री प्रयोग हुनु आचारसंहिता प्रतिकूल हुने आयोगको ठहर छ । ‘भौतिक स्वरूपका सामग्री बोकेर प्रचार गर्दा आमजनमानसको सुरक्षामा असर पर्ने र उजुरीहरू समेत प्राप्त भएकाले यस्तो कार्य नगर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आचारसंहिता–२०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र प्रचारप्रसार गर्न आयोगले सचेत गराएको छ । यदि कसैले सो नियमको विपरीत भौतिक सामग्री प्रयोग गरेको पाइएमा निर्वाचन आचारसंहिता बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

आसन्न फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आफ्ना नियमहरूलाई थप कडाइका साथ लागू गर्दै आएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति –

प्रचलन खबर

धेरै टिप्पणी गरिएका