आर्थिक
डोभ नेपालद्वारा सावित्रा ‘साम्बा’ भण्डारीको उपचार र पुनर्स्थापनाका लागि आर्थिक सहयोग

काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अग्रपङ्क्तिकी खेलाडी सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि डोभ नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ। घुँडाको गम्भीर चोटका कारण हाल उपचाररत रहेकी भण्डारीको स्वास्थ्यलाभमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
युनिलिभर नेपाल लिमिटेडअन्तर्गत सञ्चालित डोभ नेपालले सावित्रा ‘साम्बा’ भण्डारीलाई रु. १५ लाख आर्थिक सहयोग गरेको जनाएको छ। उक्त रकम उपचार, स्वास्थ्य सुधार तथा पुनर्स्थापनाको प्रक्रियामा उपयोग गरिने बताइएको छ।
नेपाली महिला फुटबलको क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएकी भण्डारीले आफ्नो मेहनत, समर्पण र उत्कृष्ट प्रदर्शनमार्फत देशभित्र र विदेशमा समेत नेपालको पहिचान उचाल्दै आएकी छन्। चोटका कारण केही समय मैदानबाहिर रहनुपरे पनि उहाँको पुनरागमनप्रति समर्थकहरू आशावादी छन्।
डोभ नेपालले खेलाडीहरूको आत्मबल, आत्मविश्वास र पुनरुत्थानको यात्रामा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका अनुसार चुनौतीको समयमा साथ दिनु सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण पक्ष हो।
यस सहयोगले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार प्रक्रियालाई सहज बनाउनुका साथै उहाँको सफल पुनरागमनका लागि सकारात्मक ऊर्जा थप्ने विश्वास गरिएको छ। नेपाली खेल क्षेत्रले चाँडै नै उहाँलाई पुनः मैदानमा देख्न पाउने अपेक्षा गरिएको छ।


































