
काठमाडौँ—भारत सरकारले नेपाललाई २ सय २० वटा सवारी साधनहरू प्रदान गरेको छ । निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो ।
नेपालका निम्ति भारतीय कार्यवाहक राजदूत डा। राकेश पाण्डेले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा २५० भन्दा बढी सवारीसाधन औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरे ।
भारत सरकारले नेपाललाई कुल ६५० वटा विभिन्न किसिमका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। तीमध्ये यो दोस्रो चरणको हस्तान्तरण हो। यस चरणमा करिब २२० वटा सवारी साधन प्रदान गरिएको छ।

नेपाल सरकारले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सामग्री माग गरेअनुसार उपलब्ध गराइएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
भारत सरकारले निर्वाचनसँग सम्बन्धित सहयोगको पहिलो किस्ताअन्तर्गत यही माघ ६ गते ६० भन्दा बढी डबल क्याब पिकअप सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो ।

नेपाल सरकारको आग्रहमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ । आसन्न निर्वाचनका निम्ति उपहारस्वरूप करिब ६५० सवारीसाधन नेपाललाई उपलब्ध गराउने भारतले प्रतिबद्धता जनाएको थियो ।

भारतले यसअघि निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै दुई हजार र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० गरी कुल २४ सय सवारीसाधन उपलब्ध गराइसकेको छ ।





































