काठमाडौं— सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेज नारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट अधिकार नै नभएको विद्युत महशुल बापत साहले ३३ लाख २० हजार २२६ रुपियाँ सङ्कलन गरिएको छ ।
विद्युत महशुल सम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सम्पत्ति हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवाना हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।