जोडिनुहोस
  • होमपेज
  • जाजरकोटमा भूकम्पमा परि ज्यान गुमाउनेमध्ये ७८ जना बालबालिका

जाजरकोटमा भूकम्पमा परि ज्यान गुमाउनेमध्ये ७८ जना बालबालिका

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ज्यान गुमाएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिकाको रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट ज्यान गुमाएका एक सय ५७ मध्ये ७८ जना बालबालिका रहेका छन् ।

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाले भूकम्पमा परि ज्यान गुमाएका जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जिल्लामा गरी ज्यान गुमाउने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा ज्यान गुमाएका एक सय पाँच मध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताउनुभयो ।

रुकुम पश्चिममा भूकम्पमा परि ५२ जनाले ज्यान गुमाएकामा २८ जना बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, रुकुम पश्चिममा भूकम्पमा ज्यान गुमाएकामध्ये प्रायजसो बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।

भूकम्पमा परि ज्यान गुमाउनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । जाजरकोटमा ज्यान गुमाउनेमा ३३ जना महिला र १८ जना पुरुष रहेका रोकाले जानकारी दिनुभयो । रुकुम पश्चिममा १६ जना महिला र आठ जना पुरुषको ज्यान गएको छ ।

यस्ता विपदमा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका