
नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।मेलमिलाप दिवसको अवसरमा पार्टीले आज सोमवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरूबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘अनेक किसिमका बहाना खोज्नेहरू लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास गरिरहेका छन् । लोकतन्त्रको विकल्प भनेकै सुदृढ लोकतन्त्र हो । यसको विकल्प छैन । कसैले पनि लोकतन्त्रको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’ सभापति देउवाले सबै मिलेर एकता कायम गरी देशमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनुभयो ।