मौलापुर नगरपालिकाले आफ्नो पालिकाभित्र कसैले छोरीको बिहे गर्दैछ भने ३० हजार रुपैयाँ बिहे खर्च दिने स्थानीय सरकारले कार्यक्रम ल्याएको छ । सरकारले नै त्यसरी बिहे खर्च दिनु उचित हो कि होइन भन्ने बहस एकातिर छँदैछ, अर्कोतिर नक्कली बिहेको कागज बनाएर ३० हजार लिने कार्यमा वडाध्यक्ष र कर्मचारीको मिलेमतो हुने गरेको पाइएको छ ।
मौलापुर नगरपालिकाले छोरीको बिवाहमा ‘असहाय के साथ मेयर’ कार्यक्रम अन्तरगत ३० हजार आर्थिक सहयोग गर्दै आएको छ । मौलापुर नगरपालिका–९ का वडाअध्यक्ष श्यामकिशोर साहले सोही ठाउँ निवासी महिन्द्र राय यादवकी छोरी सञ्जु कुमारीको विवाह हुँदै गरेकाले ३० हजार अनुदान सहयोग उपलब्ध गराईदिन मेयरसमक्ष सिफारिस गरे ।
गत पुस १८ गतेको सिफारिसमा वडाअध्यक्ष साहले माघ २५ गते यादवकी छोरी सञ्जुको विवाह रौतहट जिल्लाको वृन्दावन नगरपालिका, बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरासँग तय भएको उल्लेख गरेका थिए । ३० हजार आर्थिक सहयोग उपलब्ध गराइदिनका लागि परेको निवेदनमा बिहेको निम्तो कार्डसमेत संलग्न राखिएको थियो ।
वडाअध्यक्ष साहको सिफारिसका आधारमा नगरपालिकाको निर्णयबाट ३० हजार रुपैयाँ दिने निर्णय भयो । लेखापालले ३० हजार रुपैयाँको चेकसमेत काटे । चेक बेहुलीका बुवा सञ्जुका बुबा महिन्द्रका नाममा काटियो ।
मेयर रिना कुमारी साह पनि के कम उनले बेहुलीका बाबुलाई आफैं चेक हस्तान्तरण गरेर जस आफैंले लिने विचार गरिन् । र, उनी चेक बोकेर बेहुलीको घरतिर लागिन् । तर जब चेक लिएर मेयर साह महिन्द्रको घरमा पुगिन्, उनी झसङ्ग भइनन् । महिन्द्रको घरमा कुनै विवाह नै तय भएको रहेनछ । वडाअध्यक्षले फर्जी कागज बनाएर सो रकम आफैं लिएर खान खोजेका रहेछन् । त्यसपछि मेयर रिना कुमारी चेक बोकेर नगरपालिका फर्किइन् ।
नगरपालिका स्रोतका अनुसार यसअघि मेयर साहको पहलमा विगत लामो समयदेखि सयौं परिवारका बेहुलीहरुलाई ३० हजारका दरले रकम बाँडिँदै आएको छ । रकम पाउन वडाले सिफारिस गर्नुपर्ने कार्यविधि छ । यसैवीच, वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि स्थानीयले विरोध गरेका छन् । उनीहरुले वडाअध्यक्ष साहलाई कारवाहीको माग गरेका छन् ।