गलेश्वर– चैत महिना लागेयता म्याग्दीका ७० भन्दा बढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजारभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने जङ्गली जनावर जङ्गल छोडेर गाउँ पस्न थालेका छन् । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् ।
म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।
चार दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मूलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नाश हुनुको साथै जङ्गली जनावर वासस्थान छोडेर गाउँ पस्न थालेपछि गाउँले आतङ्कित भएका स्थानीयवासीले बताएका छन् ।
सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन् । आगलागीका कारण वनमा भएका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएको स्थानीयवासी भीमबहादुर रिजालले बताए ।
त्यसैगरी’ पश्चिम म्याग्दीको निस्कोटको उपल्लो बदरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।
भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ । सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए । ‘यसवर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भएको छ, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ’, अधिकारीले भने । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेट विनियोजन गरेको छ ।
डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमासमेत पठाइएको उनको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उनले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।