नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो । निगमले २०८० चैतसम्मको अवधिमा पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौसय ६८ किस्ता रकम भुक्तानी गरेको छ ।
साथै, निगमले कोभिड-१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।