
गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई दलीय पक्षधरता नलिन आग्रह गरेका छन् । गण्डकी प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदैछन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै कांग्रेस नेता पाण्डेले सभामुख कृष्ण धितालले दलीय पक्षधरता लिने खतरा रहेको आशंका गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । नेकपा एमालेसँग २२ र नेकपा माओवादी केन्द्रसँग ७ प्रदेशसभा सदस्य छन् । माओवादीबाट निर्वाचित धिताल सभामुखको भूमिकामा छन् । सत्ता गठबन्धनमा स्वतन्त्र सांसद दीपक मनाङे पनि छन् ।
आइतबार प्रदेशसभामा बोल्दै कांग्रेस नेता पाण्डेले भने, ‘सभामुखले आफ्नो निर्णय गर्दा के हो संविधानमा लेखिएको कुरा ख्याल गर्नुहोला, सभामुख भनेको कुनै दलीय पक्षधरता नलिने हो, तटस्थ बस्नुपर्छ । मेरो अनुरोध छ, यहाँ पनि तटस्थ बस्नुहोला ।’
नेता पाण्डेले अगाडि भने, ‘दलीय पक्षधरता नलिनुहोला मेरो अनुरोध छ । हामीले भनेको अटेर गर्नुभयो भने कुनै दिन माननीय सभामुखले यो रोष्ट्रमको कठघरामा उभिएर जवाफ दिनुपर्ने दिन पनि आउन सक्छ ।’
नेता पाण्डेले सभामुख धिताललाई गण्डकी प्रदेशसभाको अवधि अझै साढे ३ वर्ष रहेको स्मरण गर्न पनि सभामुखलाई आग्रह गरे ।
‘याद राख्नुस्, सबैले यो सभामा आजका दिनमा सबैभन्दा ठूलो दल २७ सदस्य लिएर उपस्थित दल नेपाली कांग्रेस हो । नेपाली कांग्रेसलाई नजर अन्दाज गर्दै आइरहनुभएको छ । यही नजरअन्दाज गरिरहनुहुन्छ भने साढे ३ वर्ष कसरी चल्छ यो संसद हामी पनि हेर्छौं’, उनले भने ।