काठमाडौं( सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको मंगलबार बसेको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले देशको पछिल्लो राजनीतिक अवस्था र आफूमाथि नेपाली कांग्रेसले संसद्मा गरिरहेको घेराबन्दीबारे सांसदहरूलाई ब्रिफिङ गरेका हुन् ।
ब्रिफिङका क्रममा सभापति लामिछानेले २०८० फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेको कांग्रेसले आफूलाई घेराबन्दी गरेर सत्ता गठबन्धनमा संकट ल्याउन खोजेको बताएका छन् ।
‘कांग्रेसले अहिलेको सत्ता गठबन्धनमा संकट ल्याउने प्रयास गरिरहेको छ’, उनले बैठकमा ब्रिफिङ गर्दै भने, ‘हामी अहिले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ । तर कांग्रेसले अस्थिरता ल्याउन खोजेको छ ।’
उनले पार्टीका तर्फबाट सरकारका रहेका मन्त्रीहरूले देश र जनतालाई केन्द्रमा राखेर त्यहीअनुसारको नीति, कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने पनि बताएका छन् ।
लामिछानेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई लखेटेर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको निष्कर्ष सुनाउँदै यस कुरामा सबै सांसद र नेताहरूलाई सजग र सचेत हुन पनि भनेका छन् ।
रास्वपा संसदीय दलको बैठकले अरु कसैको इशारामा संसद्लाई सहज ढंगले चल्न नदिएर कांग्रेसले मुलुकमा अस्थिरता निम्ताउन खोजेको निष्कर्ष पनि निकालेको सह(प्रवक्ता मनिष झाले बताएका छन् ।