काठमाडौं– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र विश्वासको मत लिने भएका छन् । हिजो बिहीबार शपथ ग्रहण गरेका मुख्यमन्त्री कार्कीले हप्ता दिनभित्र नै विश्वासको मत लिने बताए ।
उनका अनुसार एक सातामा सरकारलाई पनि पूर्णता दिने योजना छ । उनले भने, ‘यो साताभित्र सरकारलाई पूर्णता दिएर विश्वासको मत लिन्छु ।’बजेट तथा नीति र कार्यक्रमको तयारी गर्नुपर्ने भएकोले सरकारलाई पनि छिट्टै पूर्णता दिने उनको तयारी छ ।
यता माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्री कार्कीलाई एक सातामा विश्वासको मत दिन सहज भएको बताउँछन् । कुन मन्त्रालयमा को पठाउने भन्ने विषयमा छलफल भइरहेको आङ्बोको भनाइ छ ।आङ्बोले खबरहबलाई भने, ‘कोशीमा कम्फरटेवल सरकार बन्छ ।’
यता कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध दायर गरेको रिट सुनुवाइको पेशी आज तोकिएको छ ।