काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठकले संसदीय छानबिन समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेका हुन् । बैठकले समिति गठनका लागि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।
बैठकमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदीय समिति गठन हुनुपर्नेमा प्रतिपक्षी दलहरू एकमत भएका जानकारी दिए । ‘छानबिन समिति बन्नु पर्छ भन्नेमा हामी एकमत छौँ,’ उनले भने, ‘सभामुख तटस्थ देखिनु भएन । समिति गठनका लागि सभामुखको ध्यानाकर्षण गराउँछौँ ।’
बैठकमा राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनु पर्ने प्रस्ताव गरेको पनि उनले बताए ।