काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावबारे संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबार बैठकमा बोल्दै उनले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावबारे संसदमा छलफल हुनुपर्ने बताएका हुन् । ‘आउँदै गरेको वर्षातका जोखिमहरू र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस् । हामीले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर, प्रभावहरूका बारेमा यो संसदको आफ्नो भूमिका के रहने ?,’ सापकोटाले भने, ‘र त्यो भूमिकाका बारेमा पनि संसदभित्र गहनतापूर्वक छलफल होस् र एउटा निष्कर्षका साथ हामी अगाडी जाऔँ । त्यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गरौँ भनेर अनुरोध गर्न चाहन्छु ।’
उनले २०७८ साल असार १ गते मेलम्चीमा आएको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत हालसम्म नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु कि ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेलम्ची क्षेत्रका बासिन्दाहरूले पाउनुपर्ने क्षतिपूर्ति र राहत लगायतका विषयहरूका बारेमा कुनै सम्बोधन भएको छैन,’ सापकोटाले भने, ‘यसका बारेमा सम्बोधन होस् ।’