जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सत्ता गठबन्धन दलले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
जनमत पार्टीको नेतृत्वमा नयाँ मधेस सरकार बनाउने सहमति भएसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीले अल्पमतमा परिसकेकाले मुख्यमन्त्री यादवलाई पदबाट हटाउन प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ज्ञापन पत्र बुझाउन लागेका हुन् ।
आइतबार नै प्रदेश प्रमुख भण्डारीसमक्ष ज्ञापन पत्र बुझाइन लागिएको जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए । ‘अल्पमतमा परिसकेका मुख्यमन्त्रीले दीर्घकालीन निर्णयहरू नगर्न र पञ्चवर्षीय योजना र आगामी आर्थिक वर्षको बजेट आउनपूर्व नै राजीनामा गरेर बाटो खोलिदिन आग्रहसहित प्रदेश प्रमुखसमक्ष ज्ञापन पत्र बुझाउँदैछौँ’, साहले भने ।
मधेसका हालका मुख्यमन्त्री सरोज यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका नेता हुन् ।अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएसँगै मधेसमा नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो । माओवादी र एमालेले वैशाख ३० गते सरकार छोडेसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । १०७ सदस्य रहेको मधेस प्रदेश सभामा २५ प्रदेश सांसदसहित एमाले पहिलो दल हो ।
प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ८, माओवादीका ९ र एकीकृत समाजवादीका ७ सदस्य छन् । लोसपाका ९ सांसदमध्ये १ जना अभिराम शर्मा निलम्बित छन् ।
राप्रपा, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको १–१ जना सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ एमाले, जनमत, लोसपा, एकीकृत समाजवादी र माओवादी मिल्दा बहुमत पुग्छ।