काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले राजस्व चुहावट नियन्यत्रण गर्नसके मात्र बजेटले आफ्नो लक्ष्य पूरा गर्न सक्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै उनले यो सन्तुलित र कार्यान्वयन गर्न सकिने बजेट आए पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।
“बजेट कार्यान्वयन गर्ने भए सरकारले सुशासन कायम गर्नुपर्छ । राजस्व चुहावट नियन्त्रण गर्न सके मात्र बजेटले आफ्नो लक्ष्य पूरा गर्न सक्छ,” उनले भने । सांसद आलेले १२ खर्ब बढी राजस्व संकलन गर्ने विषय महत्वकांक्षी भएको टिप्पणी गरे । “११ खर्ब राजस्व पुग्ने देखिन्छ । १२ खर्ब बढी राजस्व उठाउने विषय महत्वकांक्षी छ,” उनले भने, “तीन अर्ब ऋण आन्तरिक रूपमा सरकारले उठाउने भए निजी क्षेत्रले बैंकबाट ऋण लिन तरलता अभाव हुन सक्छ ।”