काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिएकान छन् ।
‘म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु’, बाइडेनले एक विज्ञप्तिमार्फत भने ।
यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए ।‘स्थानीय, राज्य र सङ्घीयस्तरमा बीस हजार भन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु’ उनले भने ।
यस्तै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मेक्सिकोको अर्को राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा क्लाउडिया सेनबामलाई बधाई दिए र दुई देशबीचको साझेदारीलाई बलियो बनाउन सहकार्यका लागि उत्सुकता व्यक्त गरे ।
जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि भएको पोलिटिकोले जनाएको छ।
मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।