देश
स्वास्थ्यमन्त्री यादवको चेतावनी- आफू नागरिकलाई ठग्ने, दोष मन्त्रीलाई दिने कर्मचारीलाई कारबाही हुन्छ
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारबाही अघि बढाउने चेतावनी दिएका छन् ।
सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।
उनले भने, ‘तपाईँहरूको साथ सहयोग भयो भने केही दिनभित्रमा धेरै जना सस्पेन्ड हुन्छन् । धेरै जना कारबाहीमा पर्छन् । धेरै जनाको मुद्दा म आफैँ अख्तियारमा पठाउँछु । रंगेहात नै समातेर कारबाहीको दायरामा ल्याउँछु । त्यसको लागि मैले हरेक अस्पतालमा एउटा टिमको गठन गरिरहेको छु । त्यसले अस्पतालमा भइरहेको बेथितिलाई रोक्छ र समात्छ । नागरिकको निःशुल्क उपचार होस भनेर काम गर्ने तर अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने प्रवृत्ति बढ्यो । अनि दोष भने मन्त्रीमाथि आउन गरेको छ । यो मान्य हुँदैन ।’
यस्तै, उनले मन्त्रालयमा सुधार गर्ने अठोटको साथ अगाडि बढेको भन्दै त्यसको लागि रातिको समयमा पनि अनुगमनमा जाने बताए । उनले भने, ‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपालि पक्कै पनि सुधार हुन्छ । अठोटको साथ काम गरिरहेको छु । हरेक एक एक कुरामा ध्यान दिइरहेको छु । अब दिउँसो होइन मात्र होइन राति पनि अनुगमनका लागि अस्पताल पुग्छु ।’
जनताको सेवाको भाव लिएर जुन अस्पतालहरू खोलिएको थियो त्यो हिसाबले सेवा नभएको पनि उनको भनाइ छ । उनले अस्पतालहरूमा भएको बेथितिलाई रोक्नको लागि समिति गठन गरेर काम भइरहेको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए ।