जोडिनुहोस
  • होमपेज
  • कांग्रेसलाई सरकारमा जान हतार छैन; शेखर कोइराला

कांग्रेसलाई सरकारमा जान हतार छैन; शेखर कोइराला

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले देशको राजनीति अत्यन्त तरल अवस्थामा रहेकाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल बैंक लिमिटेडको दशौँ केन्द्रीय अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक तरलताका कारण गएको डेढ वर्षमा केन्द्र र प्रदेशमा पटक पठक सरकार परिवर्तन भएका बताए ।

नेता कोइरालाले भने, ‘राजनीति वा सरकारको स्थिरता नभई आर्थिक स्थिरता र सुशासनसँगै समृद्धि हाँसिल गर्न सकिदैन ।’

मुलुकमा सुशासन र स्थायित्व कायम गर्न भ्रष्टाचार न्यूनीकरण, स्थायी सरकार र नीति आवश्यक पर्ने नेता कोइरालाको भनाइ थियो । राजनीतिक दल विभाजन गर्ने र नेतालाई दुःख दिने नियतले आपराधिक किसिमका कार्य भइरहेकाले राजनीतिक दलले यस विषयमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।

सुशासन, पारदर्शिता र भ्रष्टाचारका विषयमा छिनोफानो नभई देश विकास र समृद्धितर्फ जान नसक्ने उल्लेख गर्दै नेता कोइरालाले राजनीतिक स्थिरताका लागि अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे समेत पुनर्विचार गर्न आवश्यक रहेको धारणा राखे ।

उनले सरकारी र निजी क्षेत्रको स्वामित्वको अवधारणामा रहेर सञ्चालित, युवापुस्ता र महिला कर्मचारीको उदाहरणीय उपस्थिति रहेको देशको सबैभन्दा पुरानो नेपाल बैंक लिमिटेडको भविष्य उज्ज्वल रहेको बताए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका