बाजुरा– साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ ।
नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो । कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताए । उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए ।
उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ ।बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे । उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।