![दुग्ध किसानहरूले सरकार भिख होइन, पसिनाको मूल्य मागेका हुन्: सांसद बाँस्कोटा](https://sagarmatha.tv/wp-content/uploads/2024/06/449219897_1011169660522683_7887704880070854332_n_BeZtNHwgIL-1024x772.jpg)
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भिख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले सरकारले दुग्ध किसानहरूको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको बताए । उनले दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए । उनले दुग्ध किसानहरूले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर, गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।
उनले वर्तमान सरकार दुग्ध लगायत अन्य किसानहरूलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए । बाँस्कोटाले जनताको सरकार भएपछि जनताप्रति जबाफदेही हुनुपर्ने बताए । उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जबाफदेहिता नभएको बताए । लम्पी स्किनलाई लिएर अर्बौंको क्षति हुँदा समेत किसानहरूले बीमाको रकम लगायत गाईको मूल्य नपाएको समेत बाँस्कोटाले बताए ।
उनले सरकारले एउटै वडामा ६ करोड भन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै यसमा सरकारको दृष्टिकोण माग गरे ।