जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा घरभित्र बाढी पस्दा शिशुको मृत्यु, युवक बेपत्ता

कञ्चनपुरमा घरभित्र बाढी पस्दा शिशुको मृत्यु, युवक बेपत्ता

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१, पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।

राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३, वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ ।

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार ७५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । “हालसम्म एक हजार ७३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ,” उनले भने ।

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका