जोडिनुहोस
  • होमपेज
  • एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !

एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री !

काठमाडौं । यही शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि नयाँ सरकार गठनको औपचारिक रुपमा बाटो खुला हुनेछ । अहिलेसम्मको परिवेशअनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने सम्भावना देखिँदैन । कांग्रेस र एमालेले गरेको सहमतिअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् । यद्यपि राष्ट्रपति रामचन्द्र पौडेलले कुन धाराअन्तर्गत नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् भन्ने कुरा यतिबेला बहसकाे विषय बनेको छ ।

नयाँ सरकार गठनका लागि दुई राजनीतिक दलबीच मन्त्रालयकाे भागवण्डामा मोटामोटी सहमति पनि बनिसकेको छ । प्रधानमन्त्रीबाहेक एमालेको भागमा ९ र कांग्रेसले १० वटा मन्त्रालय लिने सहमति बनेको छ । यी दुई दलबीच मन्त्री बनाउने मापदण्ड पनि लगभग फाइनल भइसकेको बताइन्छ । पहिला पटकपटक मन्त्री नबनेका र युवालाई अवसर दिइने सहमति बनेको छ ।

एमालेले मन्त्री बन्ने ६ जनाको नाम फाइनल गरिसकेको छ । एमालेले यसपटक तीनजना महिलासहित योगेश भट्टराई, एलपी साँवा र पदम गिरीलाई अवसर दिनेछ भने विद्या भट्टराई, सुनिता बराल र अन्जान शाक्य पनि मन्त्री बन्ने लिस्टमा छन् । एमालेकाे भागमा परेकाे चर्चित अर्थ मन्त्रालयको भने टुंगो लागिसकेको छैन । यसअघि अर्थमन्त्री बनिसकेका सुरेन्द्र पाण्डे वा विष्णु पौडेल वा नयाँ कोही अर्थमन्त्री बन्ने सम्भावना बराबर रहेको एमालेका एक नेताले जानकारी दिए ।

कांग्रेस भने महामन्त्री गगनकुमार थापाको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । महामन्त्री गगनले चित्तबुझ्दो मन्त्रालय नपाए कांग्रेसबाट सरकारको नेतृत्व नगर्न सक्ने सम्भावना पनि त्यत्तिकै रहेको समाचारस्रोतको दाबी छ । महामन्त्री थापा उपप्रधानसहित स्वास्थ्य अथवा भौतिक पूर्वाधार मन्त्री बन्ने सम्भावना छ । समाचारस्रोत भन्छ, कांग्रेसबाट डा. आरजु राणा देउवा र रमेश लेखकको नाम फाइनल जस्तै हो । आरजुले परराष्ट्र र लेखकले गृहमन्त्रालयमा दाबी गरेका छन् । तर, गृहमन्त्रालयमा रामहरि खतिवडाको पनि दाबी रहेको छ ।

सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई समेत समेट्ने गरी ६ जना मन्त्री सरकारमा पठाउने छन् भने शेखर कोइराला र राष्ट्रपति रामचन्द्र पौडेलको १–१ जना, महामन्त्री गगनले थप एकजना सहयोगीलाई मन्त्री बनाउने सम्भावना छ । सभापति देउवाले रमेश लेखक, आरजु देउवा, रामहरि खतिवडा, किशोरसिंह राठोर, बीरबहादुर बलायर, अजय चौरासिया, ईश्वरी न्यौपाने, सुशीला थिङमध्येबाट मन्त्री बनाउने छन् । सभापति देउवा इतर समूहबाट डा. चन्द्रकान्त भण्डारी, जीवन परियार, राजन केसी, प्रदीप पौडेल, बद्री केसी, तेजुलाल चौधरीमध्येबाट मन्त्री बन्ने सम्भावना छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका