जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

सिमलताल पहिरो : बेपत्ताको खोजी गर्न डेढ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौं । चितवनको सिमलतालमा गएको शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न १४९ सशस्त्र प्रहरी परिचालन गरिएको छ । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएको छ ।

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने कार्य भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । खोजीकार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी खटिएका छन् । सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्‍याफ्याटिङ बोट’सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौजना परिचालन गरेको छ ।

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका निम्ति खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् । गएको शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई बसका बेपत्ता यात्रुमध्ये पाँचजनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनको पहिचान खुलेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीले जानकारी दिए ।

माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

काठमाडौंबाट गौरतर्फ जान लागेको वाग्मती प्रदेश०३–००१ख २४९५ र वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको वाग्मती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बगेको थियो । गौरतर्फ गइरहेको बसमा ३८ र काठमाडौंतर्फ आइरहेको बसमा २७ यात्रु बेपत्ता भएका अनुमान गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका